काठमाडौं- नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २-२ विकेट लिएका थिए। त्यस्तै ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक २५ रन बनाए भने जितेन रमानान्दीले १२ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए। त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए।
यो जितपछि अब नेपालले शनिबार हुने फाइनलमा युएईको सामना गर्ने छ। यो प्रतियोगिता जित्ने टिम आगामी एशिया कप खेल्ने छ।