काठमाडौं- भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ।
बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ।
काठमाडौं, छहरे, बाहुनबेंसी, सरमथली, भोर्ले, ल्याचाङ हुँदै कालिकास्थानबाट धुन्चे पुग्ने बैकल्पिक मार्गमा सवारीको चाप र हिलोका कारण आवात जावात गर्ने सवारी साधन र यात्रा गर्ने मानिसहरुलाई हिन्नलाई कठिन भइरहेको छ।
हाल रसुवा जानका लागि फेदीबेंसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क प्रयोग हुँदै आएको छ। साथै फर्कनका लागि पाटीखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै यातायात संचालन भइरहेको छन्।
उक्त बाटोमा सवारी चाप र साँघुरो भएका कारण गतव्यमा पुग्न निकै सास्ती छ। साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या छ। कच्चीबाटो पानी परेका कारण हिलाम्य छ। यसैक्रममा नौकुण्ड गाउँपालिका–४ का स्थानीय गणेश न्यैपानेले गाउँ जाने सडकको अवस्था अत्यन्तै दयनीय रहेको बताएका छन्। सडकमा ग्राभेल तथा ढुङ्गा हालिए पनि वर्षाका कारण हिलोमा दबिँदा आवतजावतमा समस्या भएको उनले बताए।
न्यैपानेका अनुसार उनी त्रिशूलीबाट बिहान ४ बजे हिँडेर सामान गाउँ पुर्याउन गएको र भोलिपल्ट बेलुका सामान झारेर फर्किएपछि पक्की सडकमा बसेका थिए। त्यसपछि कच्ची सडकमा ढुङ्गा हाल्दै बिस्तारै घरतर्फ फर्किरहेको उनले बताए।
‘म त्रिशूलीबाट अस्ति बिहान चार बजे राति हिँडेको, बल्ल(बल्ल हिजो बेलुका सामान झारेर अनि फर्केर आएर त्यो पक्कीमा बसेँ। अनि अहिले यो कच्चीमा ढुङ्गा हालेर बिस्तारै आइरहेको छु,’ न्यैपानेले भने, ‘आफैँले हालेँ त नि। पालिकाले पनि गरेको छ भन्छ। तर अलिअलि यो कता हो कता भइराख्या छ।’
उनका अनुसार सडकमा ग्राभेल हालिए पनि धेरै गाडी गुड्दा हिलोमा ग्राभेल दबिने गरेको छ। जसका कारण सडक झनै बिग्रिँदै गएको र पैदल तथा सवारीसाधनबाट यात्रा गर्नसमेत कठिन भएको उनले बताए।
‘धेरै गाडी हिँडेपछि हिलोमा दबिन्छ ग्राभेल हालेको। कहाँ के हुनु ! असम्भव भइरहेको छ हिँड्न यो बाटो,’ न्यैपानेले भने। बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ। नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो।