काठमाडौं- जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुँदैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज अन्नपूर्ण स्पाइकर्स किंग र खप्तड फाल्कन्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच साँझ ७ बजे खेल हुनेछ।
खप्तडले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ भने अन्नपूर्णले यसअघि खेलेका ३ मध्ये २ खेल जितेको छ।
त्यस्तै काठमाडौँ रेड्सले यसअघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली अपराजित रहदै तिनै खेल जितेको छ।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ। नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो।
भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन्।