काठमाडौं- गत भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले दुई जिल्लाका विभिन्न क्षेत्रमा मानवीय सँगै भौतिक क्षति भएको छ। बाढीले सबै भन्दा बढी रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा भौतिक क्षति पुर्याएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आंकलन अनुसार बाढीले सबै भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको जनाइएको छ।
बाढी रसुवा र नुवाकोटका १३ वटा जलविद्युत आयोजनामा क्षति पुगाउनुका साथै ७८३ मेगावाट क्षमताका जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्।बाढीले यी दुई जिल्लाका सात हजार ५७० घर क्षतिग्रस्त भएकामा प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९३३ रहेको प्राधिकरणको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।
बाढीले ४८ वटा सरकारी संरचना, १८ वटा विद्यालय र सात वटा स्वास्थ्य संस्था क्ष्ाितग्रस्त भएको छ। यसैगरी, बाढीले जलविद्युत आयोजना पछि सबै भन्दा बढी पूर्वाधार क्षेत्रमा क्षतिग्रस्त भएको प्राधिकरणले जनाएको छ। बाढीले सडक (पुरै बगेको) ५५ किलोमिटर र झोलुङ्गे पुल ६८ वटा बगाएको छभने कृषि जमिनमा क्षति १ हजार ८०६ हेक्टर र खाद्य उत्पादनमा असर ७ सात ६८६ मेट्रिकटन क्षतिग्रस्त भएको छ। प्राधिकरण प्रारम्भिक आंकलन अनुसार बैंक शाखा १७ वटा, होटेल एक सय ४२, रेष्टुरेन्ट ५७ वटा, पर्यटक सवारी एक सय ४१ र सम्पदा २७ वटा क्षतिग्रस्त भएको छ। यस्तै, बाढीबाट झन्डै ३ खर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएकोमा पुनःनिर्माणमा ६ अर्ब अमेरिकी डलरसम्म अर्थात् नेपाली ९ खर्ब १२ अर्ब बढी खर्च लाग्न सक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ। तर, यो प्रारम्भिक विवरण भएकाले वास्तविक क्षति र पुनःनिर्माणका लागि आवश्यक रकम भोलि (बुधबार) सार्वजनिक गर्ने जनाएको छ।