काठमाडौं- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’को ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ। बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा यो अवार्ड प्राप्त गरेको थियो। वासिङ्टनको राजधानी सहरमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र दिलबन्धु रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको छ।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वासनीयता, भौतिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यवस्थापकीय साझेदारी, ग्राहकमुखी रूपान्तरण, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (AI) को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सक्षम जोखिम व्यवस्थापनलाई मुख्य आधार बनाएर बैंकलाई पुरस्कृत गरेको हो। उक्त समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई पनि पुरस्कृत गरिएको थियो। जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको सीसीबी, नेपालको ग्लोबल आइएमई बैंक, मौरिससको एमसीबी, बङ्गलादेशको सिटी बैंक, जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय बैंकहरू विभिन्न विधामा सम्मानित भएका छन्।
यो सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ र यसका लागि बैंकले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गरेको छ। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण बैंकले यसअघि पनि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेसनल बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५ तथा अन्य प्रतिष्ठित पुरस्कारहरू पनि प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक देशका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६९ एक्स्टेन्सन काउन्टर र राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ। यसका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई र भारतलगायत विभिन्न देशबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।