आइतबार, भदौ २१, २०८३

भोटेकोशी बाढीः बैंकका १६ शाखामा ६० करोडको क्षति

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं- गत भदौ १० मा रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाहरूले ६० करोड रुपैयाँ प्रत्यक्ष क्षति ब्यहोरेका छन्। 

नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न १२ वटा बैंकका १६ वटा शाखा कार्यालय थिए। कुल शाखामध्ये १५ शाखा कार्यालयमा पूर्ण क्षति पुगेको छ भने एउटा शाखा कार्यालय क्षतिग्रस्त अवस्थामा रहेको संघले जनाएको छ। प्रभावित बैंकका सबै शाखाहरूमा कुल ७८ हजार २ सय ४ जना निक्षेपकर्ता रहेको संघले जनाएको छ। बैंकहरूका ९ एटीएममा १ करोड १६ लाख ६३ हजार रुपैयाँ नगद रहेको थियो भने क्यास भल्टमा १७ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

त्यसैगरी नगद काउन्टरमा एक करोड १७ लाख नगद रहेको संघले जनाएको छ। सो क्षेत्रमा रहेका बैंकमध्ये कृषि विकास बैंकमा मात्रै लकर सुविधा रहेको र उक्त लकर पनि क्षतिग्रस्त भएको छ। त्यसैगरी बाढी गएको क्षेत्रमा ८ वटा एटीएम काउन्टर रहेको संघले जनाएको छ ।बैंकका अधिकांश एटीएम काउन्टर पनि क्षतिग्रस्त रहेको संघले जनाएको छ। बाढीले प्रभावित भएका बैंकका शाखाहरूमा कुल २ हजार १२५ ऋणी रहेको संघले जनाएको छ। संघका अनुसार प्रभावित क्षेत्रमा बैंकहरूले २ अर्ब ४३ करोड कर्जा लगानी गरेको अवस्था छ। बैंकहरूको यो कर्जा लगानी जलविद्युत् क्षेत्रमा गरेको बाहेकको हो। ती शाखामा कुल निक्षेप ४ अर्ब ५० करोड रुपैयाँ छ। 

बाढीका कारण सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको देखिन्छ। बैंकको त्रिशूली शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। साथै सो शाखामा बैंकको ६४ लकर बक्स प्रयोगमा भएकाले ग्राहकको सम्पत्तिमा समेत क्षति पुगेको छ। लकरमा भएको सरसामानको बीमा नहुने भएकाले लकर प्रयोगकर्ता ग्राहकलाई मात्रै नोक्सानी भएको मानिन्छ । साथै लकरमा के राखेको भन्ने समेत बैंकलाई जानकारी नहुने भएकाले त्यो विवरणमा समावेश गरिएको छैन। तर, सुन धितोमा कर्जा लिएको सुनको हकमा भने बीमा गरिएको हुन्छ। त्यस्तो धितोमा लिइएको सुनलाई पनि बैंकहरूले क्षतिमा गणना गरेका छैनन्।

बाढीका कारण कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, सानिमा बैंकका एक–एक शाखा कार्यलयमा क्षति पुगेको छ। त्यसैगरी प्रभु बैंकका दुई र एनआइसी एसिया बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकका ३ शाखा कार्यलयमा क्षति पुगेको छ। यसैबीच बैंकहरूका २६ कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। बाढीले धेरै बैंकका शाखा कार्यलय पूर्ण क्षति पुर्‍याएसँगै २६ कर्मचारी सम्पर्कविहीन भएका हुन्।

प्रकाशित: Sep 06, 2026| 10:37 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्