काठमाडौं- सामान्य प्रयोजनका कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गर्ने कम्पनी मानसले मेटाबाट अलग हुँदै पुनः स्वतन्त्र रूपमा सञ्चालन सुरु गरेको जनाएको छ।
कम्पनीले स्वतन्त्र सञ्चालन औपचारिक रूपमा सुरु गरेको जानकारी दिएको हो। कम्पनीका संस्थापक टोलीले नै नेतृत्वलाई निरन्तरता दिँदै विश्वभरका प्रयोगकर्ताका लागि कृत्रिम बुद्धिमत्तामा आधारित स्वचालित प्रणाली विकास गर्ने जनाएको छ।
कम्पनीका अनुसार मेटाबाट अलग हुने क्रममा केही प्रयोगकर्ताले आफ्नो तथ्यांक सुरक्षित गरेर पुनःस्थापना गर्नुपर्ने अवस्था आएको थियो। यस क्रममा केही समय सेवा पहुँचमा समेत समस्या देखिएको थियो। तथ्यांक सुरक्षित गरिसकेका तर पुनःस्थापना नगरेका प्रयोगकर्ताले अझै पनि पुनःस्थापना गर्न सक्ने र त्यसका लागि कुनै समयसीमा तोकिएको छैन।
मानस सन् २०२५ मा सीमित मानवीय निर्देशनमै विभिन्न काम गर्न सक्ने सामान्य प्रयोजनको कृत्रिम बुद्धिमत्ता प्रणाली सार्वजनिक गरेपछि चर्चामा आएको थियो। त्यसबेला उद्योग क्षेत्रमा यसलाई ‘दोस्रो डीपसिक’ का रूपमा समेत चर्चा गरिएको थियो।
त्यसपछि कम्पनीले आफ्नो मुख्य सञ्चालन चीनबाट सिंगापुर सारेको थियो। चीनमा रहेको टोलीको आकार ठूलो मात्रामा घटाउँदै प्राविधिक क्षेत्रमा आवश्यक जनशक्ति मात्र राखिएको र चीनभित्रका सेवा तथा सञ्चालन पूर्ण रूपमा बन्द गरिएको समाचारहरू सार्वजनिक भएका थिए।
मेटाले सन् २०२५ डिसेम्बर २९ मा मानसलाई आफ्नो स्वामित्वमा ल्याउने घोषणा गरेको थियो। यो सम्झौता करिब २ अर्ब अमेरिकी डलरको रहेको रोयटर्सले जनाएको थियो। यसअघि प्रकाशित विवरणमा भने कम्पनीको मूल्य २ देखि ३ अर्ब अमेरिकी डलरसम्म रहेको उल्लेख गरिएको थियो। दुवै कम्पनीले सम्झौताको अन्तिम आर्थिक विवरण सार्वजनिक गरेका थिएनन्।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले गत अप्रिल २७ मा विदेशी लगानी सुरक्षा समीक्षा संयन्त्रको कार्यालयले कानुनअनुसार मानस खरिदसम्बन्धी परियोजनामा विदेशी लगानी रोक्ने निर्णय गरेको जनाएको थियो। साथै सम्बन्धित पक्षलाई खरिद सम्झौता रद्द गर्न आदेश दिइएको थियो।
त्यसपछि अगस्टमा मानसले मेटाबाट अलग हुँदै पुनः स्वतन्त्र सञ्चालनको तयारी गरिरहेको जनाएको थियो। अगस्ट ११ को सूचनामा कम्पनीले संक्रमणकालीन प्रक्रियामा केही प्रयोगकर्ताले आफ्नो तथ्यांक सुरक्षित गरी पुनःस्थापना गर्नुपर्ने जानकारी दिएको थियो। कम्पनीले यो प्रक्रिया मेटासँगको अलग हुने र केही देशका नियामकीय आवश्यकताहरू पूरा गर्न आवश्यक भएको बताएको थियो।
मानसको खरिदसम्बन्धी विषयमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङले चिनियाँ सरकारले कम्पनीहरूलाई आवश्यकताअनुसार सीमापार सञ्चालन र प्राविधिक सहकार्य गर्न समर्थन गर्ने बताएका थिए। तर यस्ता गतिविधि चिनियाँ कानुन तथा नियमअनुसार र निर्धारित प्रक्रियामार्फत हुनुपर्ने उनको भनाइ थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पनि अप्रिल २८ मा विदेशी लगानीको समीक्षा कानुन तथा नियमअनुसार हुने बताएका थिए।
उद्योग विश्लेषकहरूले चीनको यो नियामकीय प्रक्रियाले कुनै विशेष देश वा कम्पनीलाई लक्षित नगरेको र सीमापार लगानीमा समान कानुनी तथा प्रक्रियागत व्यवस्था लागू गर्ने उद्देश्य राखेको बताएका छन्। यस्तो व्यवस्थाले आर्थिक सुरक्षा र बजार व्यवस्थालाई थप मजबुत बनाउन सहयोग गर्ने उनीहरूको भनाइ छ।