काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त विवरणमा ५८३ वटा बीमा दाबी परेको हो। प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै दाबी दि ओरिएन्टल इन्स्योरेन्समा परेको छ। उक्त कम्पनीमा ८ वटा दाबीबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार, सानिमा जिआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँको दाबी परेको छ।
बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यसअन्तर्गत ५२ वटा दाबीबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ।
त्यस्तै, सम्पत्ति बीमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार, मोटर बीमामा ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार र परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ।