काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री राहत कोषका लागि सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको जानकारी दिएका हुन्।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँबराबर हुन्छ।
नेपाली रुपैयाँ र अमेरिकी डलरमा प्राप्त रकम जोड्दा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।