काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा थप समयका लागि निरन्तरता दिने भएको छ।
यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा अब अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार निःशुल्क सेवाको उपयोग गर्न आग्रह गरेको छ। बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ। अधिकांश संरचना सञ्चालनमा आइसकेको र बाँकी संरचना पनि सञ्चालनमा ल्याउने काम भइरहेको जनाइएको छ।
विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।