काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे बस्ने गरि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्।
बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिएका छन्। सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहप्रवक्ता तथा केन्द्रीय सदस्यहरूको मनोनयनका लागि प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ।
त्यस्तै, पार्टी सचिवालय विस्तार गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ। रास्वपामा हाल ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको छ।
यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनयन गर्ने निर्णय गरेको थियो। साथै, पार्टीका पदाधिकारी रहने सचिवालय गठन गर्ने निर्णयसमेत गरिएको थियो।
केन्द्रीय समिति बैठकपछि भदौ ६ र ७ गते केन्द्रीय सदस्य तथा सांसदहरूका लागि आवासीय अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिने पार्टीले जनाएको छ।