काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद् व्यवस्थापनका लागि भइरहेको तयारी, पूर्वतयारी तथा प्रतिकार्यका सम्बन्धमा जानकारी लिएका छन्।
मुख्यमन्त्री भट्टले आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको समग्र विपद् जोखिमको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन र विपद् प्रतिकार्यका लागि प्रदेश सरकारको तयारीबारे विस्तृत ब्रिफिङ लिएका हुन्।
ब्रिफिङका क्रममा प्रदेशमा विपद्का सम्भावित घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न अपनाइएका उपाय, आवश्यक स्रोत–साधन तथा विपद् प्रतिकार्यका लागि प्रदेशमा रहेका संयन्त्रको अवस्थाबारे समेत जानकारी दिइएको थियो।
मुख्यमन्त्री भट्टले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई विशेष प्राथमिकता दिँदै आवश्यक सबै संयन्त्रलाई तदारुकताका साथ तयारी अवस्थामा राख्न निर्देशन दिए। विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोत–साधनको व्यवस्थापन चुस्त राख्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले सम्बन्धित सबै निकायबीच सूचना आदानप्रदान र कार्यगत समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरे।
उनले सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना संकलन गर्दै विपद् पूर्वसूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित निकाय सक्रिय हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिए। मुख्यमन्त्री भट्टले प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच स्पष्ट भूमिका र जिम्मेवारीसहितको समन्वय आवश्यक रहेको उल्लेख गर्दै विपद्को समयमा कुनै पनि निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए।