काठमाडौं। संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा 'एक सांसद, एक वृक्षारोपण' कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष माननीय लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यहरूको सहभागिता रहेको थियो।
संसद भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए। उनले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिए।
'आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्नेछ,' सभामुख अर्यालले भने।
नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापन शीर्षकमा संसद परिसरमा रोपिने विभिन्न प्रजातिका बोटबिरुवा तथा तिनको स्थानसमेत निर्धारण गरिएको थियो। कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूले करिब ५०० वटा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए।
कार्यक्रममा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी, गुलमोहरलगायतका फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएको थियो।