काठमाडौं। नेपाली कांग्रेसको संस्थ्पन इतर पक्षको राष्ट्रिय भेला सुरू भएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर भेलाको उद्घाटन गरेसँगै भेला शुरु भएको हो।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शंशाक कोइरालाको अध्यक्षतामा भेला जारी रहेको छ। भेलामा देउवा र कोइराला समूहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
भेलामा आज उद्घाटन सत्र हुने तथा भोली र पर्सी बन्दसत्र हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
भेलाको बन्दसत्रमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ। त्यस्तै पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने बताइएको छ।
देउवा बिहीबारमात्रै काठमाडौं आइपुगेका हुन्। गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।