काठमाडौं। प्रभु बैंक गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु बैंक झन्डै ५ अर्ब रुपैयाँ घाटामा गएको छ। गत आवमा बैंकले कर्जा नोक्सानीबापत ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको हो।
बैंकको निष्क्रिय कर्जा एक वर्षमै दोब्बरभन्दा बढी बढेर १५.५५ प्रतिशत पुगेको छ भने, सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि करिब ५ अर्ब रुपैयाँ छुट्याउनु परेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर १५.५५ प्रतिशत पुगेको हो। अघिल्लो आवमा यस्तो व्यवस्था २ अर्ब ४० करोड रुपैयाँ मात्र थियो। अर्थात् एक वर्षमै प्रोभिजनिङ रकम दोब्बरभन्दा बढी बढेको देखिन्छ। खराब कर्जा बढ्दै जाँदा बैंकको नाफा प्रत्यक्ष प्रभावित भएको छ।
अघिल्लो आवमा ८७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक गत आवमा २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। बैंकको वितरणयोग्य नाफा पनि ६ अर्ब ३१ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।
बैंकको सञ्चालनबाट हुने आम्दानीमा सुधार देखिए पनि त्यसले खराब कर्जाको भार धान्न सकेन। खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा १ अर्ब ५९ करोड रुपैयाँ रहे पनि उच्च प्रोभिजनिङका कारण अन्तिम नतिजा घाटामा सीमित भएको हो। निक्षेप संकलन १.७१ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। तर, कर्जा लगानी ४.८३ प्रतिशतले घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ।
कर्जा विस्तार घटिरहँदा खराब कर्जा अनुपात बढ्नुले बैंकको सम्पत्ति गुणस्तर र कर्जा असुलीमा गम्भीर दबाब रहेको संकेत गर्छ। बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ। बैंकले आगामी दिनमा कर्जा असुलीलाई तीव्र बनाउने, खराब कर्जा घटाउने र कर्जा गुणस्तर सुधार्ने योजना जनाएको छ। तर निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा माथि पुगिसकेको अवस्थामा बैंकको वित्तीय स्वास्थ्य सुधारका लागि असुली र जोखिम व्यवस्थापनमा ठोस प्रगति देखाउनुपर्ने चुनौती छ।