काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्था र नयाँ नेताहरूको असफलतालाई मात्रै आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन्।
भट्टराईले पुराना दलका प्रमुख नेताहरूले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कमजोर अवस्थालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा रमाउन थालेको बताउदै यसलाई आफ्नो राजनीतिक पुनरोदयको आधार ठान्नु पुराना दलका लागि ठूलो भूल हुने चेतावनी दिएका छन्।
भट्टराईले पुराना राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई आफ्नो उदयको मुख्य आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको बताउदै रवि लामिछाने र बालेन्द्र शाहले पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार स्पष्ट गर्न ध्यान नदिँदा अहिले ओरालो यात्रा सुरु भएको टिप्पणी गरेका छन्।
उनले अरूको परीक्षा लिएर रमाइरहेकाहरू अहिले आफ्नै परीक्षामा असफलताको अवस्था देखिरहेको बताउदै नेतृत्वमा टिकिरहन वा शासन लम्ब्याउन बाहिर र भित्रका विरोधीमाथि बदला तथा प्रतिशोधको राजनीति आधार बन्न नसक्ने बताएका छन्।
उनका अनुसार पुराना दलले विगतका कमजोरीको समीक्षा नगर्ने, कमजोर हुँदै गएको वर्गीय तथा सामाजिक आधार पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वका कमजोरी ढाकछोप गर्ने हो भने समस्या थप गहिरिँदै जाने चेतावनी समेत दिएका छन्।
त्यस्तै, नीति, विचार र संगठनको पुनर्गठनबारे छलफल गर्न तयार नहुने तथा पार्टीका समस्या र कमजोरीलाई लुकाएर उही जयजयकार गर्ने भीडलाई लोकप्रियता र शक्तिको स्रोत ठान्ने प्रवृत्ति पनि गलत हुने भट्टराईको भनाइ छ।