काठमाडौं- नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।
निगमले बिहीबार एक सूचना जारी होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको हो।
निगमले बजारमा १४.२ किलोग्रामको भरि ग्यास सिलिन्डरको आपूर्ति तथा बिक्री वितरण भइरहेको जनाएको छ। निगमका अनुसार गत असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरि सिलिन्डर बिक्री वितरण हुँदै आएको छ।
साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन नसकेको गुनासो आएपछि निगमको ध्यानाकर्षण भएको छ।
निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको निगमले जनाएको छ।
निगमले त्यस्ता प्रतिष्ठानलाई अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण नगर्न तथा पहिले नै मौज्दात राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न गराउन आग्रह गरेको छ।