काठमाडौं- प्रस्तावित राष्ट्रवादी ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ। नेता डा. धवलशमशेर राणाले प्रस्तावित दल आज निर्वाचन आयोगमा दर्ता हुने जानकारी दिएका हुन्।
दल दर्ताको अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दिउँसो १२ बजे निर्वाचन आयोगमा उपस्थित हुन पार्टी निर्माणार्थ गठित कार्यदलले राणाले आग्रह गरेका छन्।
राष्ट्रवादी पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियानसमेत सहभागी हुने तयारी गरिएको भएपनि दुर्गा प्रसाई भने आजको दल दर्ता कार्यक्रममा सहभागी नहुने भएका छन्। तत्काल दल दर्ता गर्न प्रसाई र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गर्ने भएको बताइएको छ।
यसैबीच, प्रस्तावित ‘जय नेपाल पार्टी’ दर्ता भएको एक साताभित्र प्रस्तावित दल र ‘नागरिक बचाउ महाअभियान’बीच एकीकरण गर्ने सहमति भएको पनि राणाले जानकारी दिएका छन्।
कार्यदलले दल निर्माण तथा एकीकरण प्रक्रियाबारे अन्य कुनै प्रकारको भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गर्दै उनले पार्टी निर्माणका लागि गठित कार्यदलले सहमतिअनुसार नै प्रक्रिया अघि बढिरहेको स्पष्ट पारेका छन्।