बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

बिक्री घट्दा शिवम् सिमेन्टको नाफा १.७२ प्रतिशतले घट्यो

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानीमा समेत गिरावट देखिएको छ। अघिल्लो आवमा ७ अर्ब ७६ करोड रुपैयाँ रहेको बिक्री आम्दानी समीक्षा अवधिमा घटेर ६ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ। निर्माण क्षेत्रको सुस्त गतिविधि तथा बजार मागमा आएको कमीका कारण बिक्री प्रभावित भएको देखिन्छ।

बिक्री घटेसँगै कम्पनीको ग्रस प्रफिट पनि खुम्चिएको छ। अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको ग्रस प्रफिट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ। यद्यपि कम्पनीले अन्य आम्दानीतर्फ १३ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ, जसले नाफालाई केही हदसम्म टेवा पु¥याएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीले सञ्चालन खर्च नियन्त्रणमा राख्न सफल भएको छ। अघिल्लो आवमा ९३ करोड १६ लाख रुपैयाँ रहेको खर्च घटेर ८० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। खर्च कटौतीका कारण बिक्री आम्दानीमा आएको गिरावटको असर नाफामा धेरै नपरेको देखिएको छ। वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यसले कम्पनीको अल्पकालीन दायित्व वहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ०३ पैसा कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात १.६४ गुणा रहेको कम्पनीले जनाएको छ।

बिक्री आम्दानी र ग्रस प्रफिटमा गिरावट आए पनि खर्च नियन्त्रण र अन्य आम्दानीको सहयोगले कम्पनीले नाफालाई स्थिर राख्न सफल भएको देखिन्छ। निर्माण तथा पूर्वाधार क्षेत्रमा माग सुधार भएसँगै आगामी दिनमा कम्पनीको वित्तीय प्रदर्शनमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Aug 13, 2026| 10:52 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्