काठमाडौं। त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्ना योग्य ग्राहकका लागि औपचारिक रूपमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट जारी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार कम्पनीले उक्त सेवा सुरु गरेको हो।
स्टक ब्रोकर नम्बर ४८ का रूपमा कारोबार गर्दै आएको त्रिशक्ति सेक्युरिटिजले तोकिएको मापदण्ड तथा सर्त पूरा गर्ने ग्राहकले मार्जिन कारोबार सुविधा लिन सक्ने जनाएको छ। यस सुविधाअन्तर्गत लगानीकर्ताले निश्चित रकम आफैं लगानी गरी बाँकी रकम ब्रोकरबाट मार्जिन सुविधाका रूपमा लिएर योग्य धितोपत्र खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार मार्जिन कारोबार गर्न इच्छुक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी त्रिशक्ति सेक्युरिटिजको मुख्य कार्यालय पुतलीसडक तथा शाखा कार्यालयहरूमा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न सक्नेछन्।
कम्पनीको मुख्य कार्यालय काठमाडौंको पुतलीसडकस्थित स्टार मलमा रहेको छ। त्यस्तै पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपा, धनगढी, बुटवल र भक्तपुरस्थित शाखा कार्यालयबाट पनि मार्जिन कारोबारसम्बन्धी सेवा लिन सकिने कम्पनीले जनाएको छ।
मार्जिन कारोबार सुविधा प्रयोग गर्दा लागू हुने मार्जिन सीमा, ब्याजदर, योग्य धितोपत्र, आवश्यक मार्जिन तथा अन्य नियम र सर्तहरू सम्बन्धी विस्तृत जानकारी कम्पनीबाट प्राप्त गर्न सकिनेछ।
त्रिशक्ति सेक्युरिटिजका प्रबन्ध सञ्चालक गोविन्द दाहालले ग्राहकलाई थप लगानीका अवसर तथा विविध सेवा उपलब्ध गराउने उद्देश्यले मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याइएको बताएका छन्।
कम्पनीले लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ।