काठमाडौं- अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री वाग्लेले मंगलबार राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताएका हुन्।
राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज नेपालका अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित संग्रह गर्नु अनिवार्य भएको उनको भनाइ छ। ‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद,’ अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीलाई भने, ‘अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।’ अवलोकनका क्रममा उनले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका संग्रहबारे संक्षिप्त जानकारी लिएका थिए।
सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको सन्दर्भमा पनि कर्मचारीसँग चासो राखेका थिए। अर्थमन्त्री वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले स्रोतसाधन अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्तावेज संरक्षण गर्नु चुनौतीपूर्ण बनेको बताइन्।
अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखको सुरक्षा गर्न कठिन बनेको उनको भनाइ छ। अभिलेखालयले स्रोत अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको उनले धारणा व्यक्त गरिन्। महानिर्देशक प्रधानांगले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधि प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्।