काठमाडौं- नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ। छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ। अर्थतन्त्रमा देखिएको सुस्ती र उपभोक्ता मागमा आएको कमीका बीच अटोमोबाइल बजारलाई चलायमान बनाउने तथा नयाँ प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको नाइमाले जनाएको छ।
आयोजकका अनुसार यस वर्षको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रविधि र सेवाहरू प्रदर्शन गरिनेछन्। विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू प्रदर्शनीको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ।
गत वर्षको तुलनामा यसपटक सहभागी ब्रान्डको संख्या उल्लेख्य रूपमा बढेको आयोजकको दाबी छ। अटोमोबाइल कम्पनीहरूले नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्न एक्स्पोलाई प्रमुख प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेपछि लन्च हुने सवारीसाधनको संख्या पनि बढेको हो।
प्रदर्शनी अवधिभर विभिन्न ब्रान्डले विशेष छुट, एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ सुविधा तथा अन्य ग्राहकमुखी योजना सार्वजनिक गर्ने तयारी गरेका छन्। यसले नयाँ सवारी खरिद गर्न चाहने उपभोक्तालाई एकै स्थानमा विभिन्न विकल्पको तुलना र छनोट गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालको अटोमोबाइल क्षेत्रको ‘कुम्भमेला’का रूपमा समेत लिने गरिएको छ। बजारमा नयाँ प्रविधि भित्र्याउने, उपभोक्तालाई नवीनतम सवारीसाधनसँग परिचित गराउने तथा अटोमोबाइल व्यवसायमा उत्साह थप्ने उद्देश्यले आयोजना हुने यो प्रदर्शनीलाई यस वर्ष अझ भव्य बनाइएको आयोजकले जनाएको छ।
