काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोपाइँ सकिन लाग्दासमेत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा किसानले सहज रूपमा मल पाउन नसकेको बताएका छन्। उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनको भनाइ छ।
नेपालमा रासायनिक मल आयातको प्रक्रिया जटिल रहेकाले यसको समयमा नै पूर्वतयारी गर्नुपर्ने प्रचण्डले बताएका छन्। आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मल आयात र वितरणको गम्भीरतालाई बुझेर समयमा नै मलको आपूर्ति तथा वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत आवश्यक बजेट सुनिश्चित गरेको उनले स्मरण गरेका छन्।
प्रचण्डले सरकारलाई रासायनिक मल आयातको प्रक्रिया यथाशीघ्र पूरा गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न आग्रह गर्दै आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गरी किसानलाई सहज, पारदर्शी र समान रूपमा मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
