नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको विद्युतीय माइक्रोबसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए। घाइते हुनेमा कावासोती नगरपालिका–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर रहेका छन्।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–३ का ५५ वर्षीय विधासागर लोना चमार घाइते भएका छन्।
घाइते चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।