वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित एक पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गरिरहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार साँझ आईसीपीबाट जाँचपास गरी नेपाल प्रवेश गरेको ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट सिल उचालेर फलामको पाइपमार्फत तेल निकालिरहेको अवस्थामा उनीहरूलाई सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक, लेखा कर्मचारी, क्यासियर तथा दुई ट्याङ्करका चालक र सहचालक गरी सात जना रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसमेत नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।