काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थ प्रयोग भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ।
कार्यालयले होटल तथा रेष्टुरेन्टमा हुने धुम्रपानका कारण धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा असर परेको भन्दै कानुनी व्यवस्थाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपान गर्ने स्थानलाई चारैतिरबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था गर्न आग्रह गरेको छ।
कार्यालयले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा कानुनले तोकेका मापदण्ड पूरा गर्न सबै व्यवसायीलाई सूचित गरेको छ। अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ अनुसार अधिकतम कारबाही गरिने चेतावनी पनि दिइएको छ।