काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा हालै घटेका दुःखद घटना र त्यसपछिको अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा एक सम्बोधन गर्दै उनले हिंसात्मक गतिविधि र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलापप्रति कडा चेतावनी दिएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घटनामा घाइते भएकाहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको उनले जानकारी दिएका छन्।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। उक्त छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाउँदै उनले स्थितिलाई सामान्य बनाउन र थप अप्रिय घटना रोक्न सुरक्षा निकायहरूलाई तत्काल घटनास्थलमा खटाइएको बताए।
स्थानीय स्तरको प्रत्यक्ष अनुगमन तथा शान्ति सुरक्षा सुदृढ गर्न गृहमन्त्री स्वयं घटनास्थल पुगेको जानकारी दिँदै उनले देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयहरू गरिएको बताएका छन्। यसबाहेक, स्थितिलाई सामान्यीकरण गर्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको र स्थानीय तहमा पनि निरन्तर संवाद भइरहेको छ।
सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न प्रधानमन्त्रीले सबैमा विशेष अपिल गरेका छन्।