काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले केही दिनयता सुनसरीलगायत मधेश प्रदेशमा घटेका घटनाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै सदियौंदेखि कायम रहेको हिन्दू-मुस्लिम धार्मिक सद्भाव र दाजुभाइको सम्बन्ध कुनै पनि हालतमा भत्किन नहुनेमा जोड दिएका छन्।
एक अपिल जारी गर्दै उनले हामी सबै यही माटोमा जन्मिएका, एउटै देशको हावामा स्वास फेरिरहेका र सुख-दुःखमा सँगै उभिँदै आएका दाजुभाइ भएकाले कसैको उक्साहट, अफवाह वा घृणाले एकतालाई कमजोर बनाउन दिन नहुने बताएका छन्।
हिंसा, प्रतिशोध र द्वेषले कसैको पनि भलो नगर्ने बताउँदै नेता विष्टले सबैलाई संयम अपनाउन आह्वान गरेका छन्। हामी सबै नेपाली भएको र धर्म फरक भए पनि देश, मानवता तथा भाइचारा एउटै भएकाले सबै मिलेर धार्मिक सद्भाव जोगाउन तथा राष्ट्रिय एकतालाई बलियो बनाउन उनले आग्रह गरेका छन्।