बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने स्थिती आउँछ : प्रचण्ड

मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने स्थिती आउँछ : प्रचण्ड

 |  बुधबार, साउन ६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०८३

जनकपुर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। 

उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सृजना हुन सक्ने उल्लेख गरे। मधेशमा संगठन विस्तार र एकतालाई प्राथमिकतामा राख्नुर्नेमा उनले जोड दिए।

संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहेपनि अन्तिम समयमा अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा आउन नसकेको स्वीकार्दै पार्टीले यस विषयमा गम्भीर समीक्षा गर्ने जानकारी दिए।

पार्टी संगठन विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने उल्लेख गर्दै उनले युवालाई नेतृत्वमा प्राथमिकता दिने बताए। पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ सबैलाई अगाडि बढ्न उनले सुझाव दिए।

संयोजक प्रचण्डले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।

प्रकाशित: Jul 22, 2026| 16:42 बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्