काठमाडौं- गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन्।
विपद्मा परेर ९८८ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन्। सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्।
प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए। सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन्। यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य पनि चार छन्।
त्यसैगरी, साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म देशभर कुल ५८ वटा विपद्का घटना भएका थिए। विपद्मा परेर तीन जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। कुल ४५ जिल्ला प्रभावित भएका छन्।