शुक्रबार, साउन १, २०८३

देशभर मनसुनी गतिविधि सक्रिय

 |  शुक्रबार, साउन १, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०८३

काठमाडौं। आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै साताको मध्यतिर देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ। यसका कारण साताभरि देशभर वर्षाको गतिविधि सक्रिय रहने उनले बताइन्। 

उनका अनुसार हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ। 

साताको सुरु र अन्त्यमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको मौसमविद् महर्जनले जानकारी दिइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मध्यम वर्षा तथा साताको मध्यमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन्।

त्यसैगरी, पहाडी क्षेत्रमा भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभर मध्यम वर्षा हुने अनुमान गरिएको जनाइएको छ। साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि साताको मध्यमा वर्षाको गतिविधि अझ सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।

तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्। 

मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरुमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले साताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
 

प्रकाशित: Jul 17, 2026| 21:10 शुक्रबार, साउन १, २०८३
प्रतिक्रिया दिनुहोस्