बुटवल– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ। साउन २७ गते चार दलीय गठबन्धनबाट सरकार बनेपछि मंगलबारदेखि हिउँदे अधिवेशनको आह्वान भएको थियो।
तर, प्रतिक्षी दल एमालेले सूर्य चुनाव चिन्हबाट विजयी भएका अजय शाही र माओवादी रोजेकी विमला कुमारी खत्री वलीलाई कारवाही नगरेको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो।
एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमनपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो। एमालेले आफूले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।
एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाव जितेका अजय शाही र विमला कुमारी वलीलाई पदबाट निलम्बन गर्न माग गरेको छ। २ जना पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जनाए।
सदन शुरु भएलगत्तै उनले समय लिएर बोल्दै सदन चल्न नदिने जानकारी गराएका थिए। ढकालले एमाले संसदीय दलको ह्विप उल्लंघन गर्ने र विधान विपरीत गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे।
ढकालले संसद अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए।
विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बुधबार दिउँसो १ बजेम्मको लागि बैठक स्थगित गरेका हुन्। सभामुख पूर्णबहादुर घर्तीले कारबाहीको पत्र सचिवालयले कानुनी प्रक्रियाअनुसार अघि बढाउने बताएका छन्। मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र केही विधेयकहरु पेश गर्ने कार्यसूची थियो।