चितवन- धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ।
शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ।
उनले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो। प्रमुख बगालेले भने, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ। कुन सहकारीले कति मल बिक्री गर्यो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ। कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।”
कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ। भरतपुरमा २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ।
त्यसैगरी माडी नगरपालिकामा ११५.००० मेट्रिक टन युरिया र ९.५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०.१०० मेट्रिक टन युरिया र १९.१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३.९५० मेट्रिक टन युरिया र २४.१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी र १०.२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९.००० मेट्रिक टन युरिया र १४.००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ।
आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिए।
कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ। त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।