काठमाडौं । आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एक भव्य कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं वरिष्ठ स्रष्टा श्री गोपी मैनालीको विचार र विचरण नामक समालोचनात्मक अन्वेषण कृति लोकार्पित भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राध्यापक डा. अभि सुवेदीले गोपी मैनालीको विचार र विचरण नेपाली समालोचनाको क्षेत्रमा छुट्टै मानक राखेको स्थान बताए। समालोचनाका लागि सिर्जनात्मक चेत चाहिन्छ भन्ने आफ्नो बुझाईलाई मैनालीको कृतिले सटिक जवाफ दिएको छ भन्दै उनको पूर्वीयदेखि पश्चिमी साहित्यको अध्ययन, अन्य विधा र उपविधाको ज्ञान, बहुआयामिक चिन्तन प्रक्रियाले समालोचनाको सिर्जनत्मक धारलाई स्थापित गरेको र नेपाली सालोचनामा विशिष्ट स्थान लिएको उल्लेख गरे। 'कृति धेरै गहन छ, ज्ञानले अथोरिटी जन्माएको छ र यो कायम राख्ने जिम्मेवारी मैनालीले सधैँ लिनुपर्छ,' उनले भने। आफूलाई यस्तै गहन कृति मन पर्ने भएकोले स्वास्थ्य समस्या भए पनि आफू कार्यक्रममा आएको बताए।
कृतिका समीक्षक प्रा. डा. खगेन्दप्रसाद लुइटेलले कृति अव्वल रहेको, विचार र विचरण दुवै उत्कृष्ठ रहेको र समकालीन समालोचनामा यसले अन्य समालोचकहरूलाई चुनौती दिएको छ भन्दै विचार र विचरणलाई दुई भागमा राखिएको भए यसले अझ बढी महत्व राख्ने बताए। अर्का समीक्षक पत्रकार तथा स्रष्टा वसन्त बस्नेतले कृति गहन र एकसाथ धेरै विषय समेटेकोले पढ्दा पढ्दै हराउन सकिने संभावना पनि रहेको बताए।
सभामा प्राज्ञ दिनेशराज पन्तले सार्वजनिक व्यवस्थापनमा मौलिक पहिचान र छवि कायम गरे जसरी समालोचनामा पनि त्यही स्थिति रहेको उनले बताए। 'प्रज्ञा र प्रतिभा भएको मानिस त्यसैको बलमा जहाँ पनि अब्बल हुन्छन् भन्ने मैनालीको व्यक्तित्व र विचारबाट देखिएको छ,' उनले भने। मैनालीको नैतिक ब्यक्तित्व, सिर्जनात्मक व्यक्तित्व र सहृदयी बौद्धिक व्यक्तित्व कृतिको प्रज्ञाकारितामा देखिएको प्राज्ञ पन्तको भनाइ थियो।
लोकसेवा आयोगका पूर्वअध्यक्ष एवम् कृतिकारका दाजु उमेशप्रसाद मैनालीले आफ्ना परिवार र भाइका विषयमा बोल्दा अवचेत तहका आग्ह आउने प्रसंग उठाउँदै यो विशाल उपस्थितिले भाइको प्रतिभा र लेखनकला स्थापित भएको प्रमाणित गरेको बताए। यसमा आफू निकै गौरवान्वीत भएको उनको भनाइ थियो।
कृतिकार गोपी मैनालीले विचार र विचरण सिर्जनामाथि पुनसिर्जना हो भन्दै सिर्जनामा विवेचना विचार सहिततको विवेचना हुने बताए। 'विचारसहितको समालोचना हो र समालोचनासहितको अन्वेषण हो,' उनले भने। कृतिमा आफूले समालाचनालाई फराकिलो दृष्टिमा हेरिएको बताए। साथै साहित्यको गरिमा उकास्न र समालोचनालाई पुनर्वोधमा लैजाने दृष्टिकोण समेत राखिएको उनले बताए।
कार्यक्रममा सम्पूर्ण राष्ट्रसेवकका तर्फबाट पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष रामबाबु नेपाल, भाषा संस्कृतिका तर्फबाट भाषा आयोगका पूर्व अध्यक्ष एवम् पूर्व सचिव डा लवदेव अवस्थी, समस्त साहित्यिक संघ संस्थाका तर्फबाट बरिष्ठ कवि कलानिधि दाहाल, ग्लोवल डायस्पोरा नेटवर्ककका तर्फबाट एनपीआइ ग्लोवल नेटवर्ककी कार्यकारी सदस्य सरु जोशी श्रेष्टले वरिष्ठ स्रष्टा मैनालीलाई शुभकामना दिँदै विचार र विचरणका विविध आयाममा बोलेका थिए। मकालु ग्रुपका अध्यक्ष बासुदेव ढकालको सभापतित्व र कवि ठाकुर बेलबासेको उद्घोषणमा सञ्चालत कार्यक्रमको स्वागत भाषण शुष्मा पण्डित मैनाली र वरिष्ठ स्रष्टा युवराज मैनालीले धन्यवाद ज्ञापन गरेका थिए।
बटुकको वैदिक गानसमेत रहेको कार्यक्रममा पूर्व प्रशासक, वरिष्ठ तथा उदीयमान साहित्यकार, प्राज्ञ, प्राध्यापक, पत्रकार र सामाजिक जीवनमा ख्याति कमाएका व्यक्तिहरूको भव्य सहभागिता थियो।
लेकार्पित कृति ‘विचार र विचरण समालोचनात्मक अन्वेषण’मा ईशापूर्व चार हजारदेखि आजसम्म, ढुंगेयुगदेखि एआई युगसम्मका करिव हजार भन्दा बढी स्रष्टाका प्रसंग र सिर्जनाको विचरण र अन्वेषण गरेका छन्।