पाटन (ललितपुर) । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ।
प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आज छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोक्नुभएको हो। उद्दले अपाङ्गता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए।
यस्तै सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ। उपसभापति शर्माको अध्यक्षतामा यही असार २५ र २६ गते बसेको बैठकको निर्णयानुसार उहाँहरुलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ।