काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबसकमा आफ्नो धारणा राख्दै महरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महरले यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद् अन्त्य नभई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनी भएको बताए।
उनका अनुसार दुईतिहाइको सरकार गठन हुँदा जनताले स्थायित्व, सुशासन र सहज सेवा प्रवाहको अपेक्षा गरेका थिए। तर, व्यवहारमा राज्यका विभिन्न संयन्त्रले कानुनको सन्तुलित कार्यान्वयनभन्दा पनि सरकारलाई खुसी पार्ने उद्देश्यले आवश्यकताभन्दा बढी सक्रियता र कठोरता प्रदर्शन गरेको देखिएको उनको भनाइ छ।
महरले पुनर्स्थापनाको स्पष्ट योजना र पर्याप्त संवादबिना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै यस्ता घटनाले जनविश्वास कमजोर बनाएको बताए। उनले गणेश नेपालीको आत्मदाहलाई पनि राज्यप्रतिको बढ्दो निराशा र असुरक्षाको संकेतका रूपमा व्याख्या गरे।
उनले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित नागरिकको सम्मानजनक व्यवस्थापनका लागि स्पष्ट नीति ल्याउन माग गरेका छन्।
'राज्यको पहिलो दायित्व नागरिकलाई डर देखाउनु होइन, विश्वास दिलाउनु हो। प्रशासनको सफलता आदेशको कठोरताले होइन, नागरिकको सम्मान र अधिकारको संरक्षणले मापन हुन्छ,' महरले। उनले विकास जनताको सहभागिता, संवाद र संवेदनशीलताका आधारमा अघि बढ्नुपर्ने धारणासमेत व्यक्त गरेका छन्।