मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मौद्रिक नीति २०८३/८४ : वित्तीय स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित, निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य

मौद्रिक नीति २०८३/८४ : वित्तीय स्थायित्व र बैंकिङ सुधारमा केन्द्रित, निजी क्षेत्रमा कर्जा विस्तारको लक्ष्य

 |  मंगलबार, असार २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रमा मौद्रिक स्थायित्व कायम गर्ने र बैंकिङ क्षेत्रमा संरचनागत सुधार गर्ने मूल कार्यदिशा अघि सारेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको यस नीतिले बैंक तथा वित्तीय संस्थाहरूको लागत घटाउँदै पुँजी परिचालनलाई थप सहज बनाउने र ऋण प्रवाहलाई थप व्यवस्थित गर्ने लक्ष्य लिएको छ।

नयाँ मौद्रिक नीतिमा ऋण व्यवस्थापनका क्षेत्रमा महत्त्वपूर्ण परिवर्तनहरू समेटिएका छन्। विशेष गरी संस्थागत ऋणीहरूको हकमा व्यक्तिगत जमानी लिने पुरानो अभ्यासलाई हटाई असीमित दायित्व सिर्जना हुने अवस्था अन्त्य गरिने भएको छ। यसका साथै, कालोसूचीमा पर्नेहरूको सङ्ख्या न्यूनीकरण गर्ने, रुग्ण उद्योगहरूको कर्जा पुनरुत्थान गर्ने र दबाबमा रहेका कर्जाहरूको व्यवस्थापनका लागि नयाँ वित्तीय उपकरणहरूको प्रयोग गर्ने रणनीति लिइएको छ।

वित्तीय क्षेत्रको डिजिटलाइजेसनलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले ‘पीयर टू पीयर’ लेनदेन प्रणालीको सम्भाव्यता अध्ययन सुरु गर्ने घोषणा गरेको छ। यो प्रणालीले क्रेडिट स्कोरिङका आधारमा व्यक्ति-व्यक्तिबीच सुरक्षित कर्जा लेनदेनको बाटो खोल्नेछ। 

त्यस्तै, बैंकहरूको पुनर्वर्गीकरण गरी व्यवसायको प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा उपलब्ध गराउने तथा शाखा सञ्चालनमा लचकता दिँदै डिजिटल बैंकिङमार्फत बैंकहरूको खर्च कटौती गर्ने योजना पनि यस मौद्रिक नीतिमा समेटिएको छ।

विदेशी मुद्राको बढ्दो सञ्चिति र यसबाट बजारमा सिर्जना हुने तरलतालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ को अवधारणा अघि सारेको छ। 

यसअन्तर्गत राष्ट्र बैंकले डलर खरिद गर्दा बजारमा प्रवाह हुने नेपाली रुपैयाँलाई विभिन्न उपकरणमार्फत खिच्ने (मोप-अप) छ, जसले ब्याजदर र मूल्यवृद्धिमा स्थिरता कायम राख्नेछ। साथै, बैंकहरूलाई आफ्नो अतिरिक्त विदेशी मुद्रालाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्ने कानुनी बाटो पनि खुला गरिएको छ।

यसैबीच, राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको म्याक्रोइकोनोमिक रिपोर्टले अर्थतन्त्रमा रहेका केही संरचनागत चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराएको छ। आर्थिक वर्ष २०२५/२६ मा जिडिपी वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहेको छ, जुन सरकारी लक्ष्यभन्दा निकै कम हो। पुँजीगत खर्चको कमजोर क्षमता, आयातमा आधारित राजस्व प्रणाली र कुल कर्जाको ठूलो हिस्सा घरजग्गा धितोमा केन्द्रित हुनुलाई प्रतिवेदनले जोखिमका रूपमा औँल्याएको छ।

गभर्नर पौडेलले यी चुनौतीहरूका बाबजुद नयाँ मौद्रिक नीतिले वित्तीय प्रणालीलाई सुदृढ र लगानीमैत्री बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Jul 07, 2026| 16:43 मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्