मंगलबार, असार २३, २०८३

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

 |  मंगलबार, असार २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०८३

लमजुङ। गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ।

बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ।

अघिपछि भन्दा सार्वजनिक बिदाका दिन पर्यटकको सङ्ख्या दोब्बर हुने गरेको छ। बेँसीसहर बजारबाट करिब छ किलोमिटरको दूरीमा रहेको करिब एक सय मिटर अग्लो उक्त झरना सहज पहुँचका कारण पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

स्थानीयका अनुसार गत वर्ष साउनपछि मात्रै त्यहाँ हेर्न आउनेको चहलपहल बढ्न थालेको हो। यस वर्ष असार लागेसँगै पर्यटकको उल्लेख्य भीड देखिन थालेको छ।

स्थानीयका अनुसार मौसम अनुकूल रहे आगामी दिनमा पर्यटकको सङ्ख्या अझ बढ्न सक्नेछ। अग्लो पहराबाट झरिरहेको कञ्चन पानी तलको प्राकृतिक पोखरीमा खस्दा सृजना हुने मनमोहक दृश्यले जोकोहीलाई आकर्षित गर्दै आएको छ। झरनाबाट उड्ने पानीका सङ्ला छिटा घामको किरणसँग ठोक्किँदा देखिने सप्तरङ्गी इन्द्रेणीले सौन्दर्यलाई थप मनमोहक बनाएको छ। 

पछिल्लो दिनमा झरनाको फेदीसम्म पुगेर फोटो तथा भिडियो खिच्ने, सेल्फी लिने र पोखरीमा पौडी खेलेर रमाउने पर्यटकको भीड बढेको छ।

लमजुङका साथै मनाङ, गोरखा, कास्की, तनहुँ, चितवनलगायत विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका स्थानीयको भनाइ छ। तनहुँबाट आउनुभएकी पार्वती तामाङले आफूले सुनेको र सोचेको भन्दा झरना अझ सुन्दर लागेको प्रतिक्रिया दिए। उनले भने, 'गर्मीमा यहाँको चिसो पानीमा पौडी खेल्न, फोटो र भिडियो खिच्न तथा साथीभाइसँग रमाउन निकै आनन्द आयो।'

झरना घुम्न आउनुभएका सृजना श्रेष्ठ, लक्ष्मण गुरुङ, सन्तोष थापा र युनिक गुरुङलगायतले गाईखुरे झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताए।

त्यहाँ झरना र प्राकृतिक पोखरीको अवलोकनका साथै पौडी खेल्न र साहसिक खेल क्यानोनिङ सञ्चालन गर्ने सम्भावना छ। नगरपालिकाका सूचना अधिकारी दिपेश घिमिरेका अनुसार चालु आर्थिक वर्षमा रु नौ लाखको लागतमा झरना क्षेत्रमा दुईवटा पोखरी निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयले ‘एक जिल्ला, एक पर्यटन क्षेत्र’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षका लागि गाईखुरे झरना विकासमा रु ५० लाख बजेट विनियोजन गरेको छ। 

उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गाईखुरे झरनालाई प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँका अनुसार मस्र्याङ्दी नदीबाट पानी ल्याई वर्षभरि झरनामा पानी बग्ने व्यवस्था गर्ने, थप पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने तथा क्यानोनिङ र र्याफ्टिङ सञ्चालन गर्ने योजना रहेको छ।

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गरी पर्यटक आकर्षित गर्न केही वर्षअघि नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भए पनि काम हुन नसक्दा पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो। चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ भएकाले यही मार्ग हुँदै यात्रा गर्ने विदेशी पर्यटकसमेत गाईखुरे झरना पुग्ने गरेका छन्।

यस्तै, मस्र्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरना, बुङ झरना तथा वडा नं. ८ भुलभुलेस्थित हामखोला झरनामा पनि पर्यटकको चहलपहल बढेको छ। बेँसीसहर–चामे सडक हुँदै मनाङ जाने आन्तरिक तथा विदेशी पर्यटकले ती झरनामा समेत अवलोकन गर्ने गरेको मस्र्याङ्दी गाउँपालिका अध्यक्षका स्वकीयसचिव प्रदीप गुरुङले बताए। पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले प्राकृतिक सम्पदाको संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको आगमन अझ बढ्ने तथा स्थानीय व्यवसायसमेत फस्टाउने विश्वास व्यक्त गरे।

प्राकृतिक सौन्दर्य, सहज पहुँच, बढ्दो आन्तरिक पर्यटकको आकर्षण तथा सरकारी लगानीसँगै गाईखुरे झरना लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयको विश्वास छ।
 

प्रकाशित: Jul 07, 2026| 15:36 मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्