काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति आजै सार्वजनिक गर्ने तयारी गरिएको हो।
यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ। विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ।
गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो।
यसपटक मौद्रिक नीतिको संरचनामा पनि परिवर्तन गरिन लागिएको छ। नियामकीय व्यवस्थाहरू मौद्रिक नीतिमा समावेश नगरिने भएको हो। नियामकीय व्यवस्था नियमित परिपत्रबाट ल्याउन सकिने भएकोले मौद्रिक नीतिमा समावेश नगरिने भएको हो।
सरकारले बजेटमार्फत चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यो लक्ष्यलाई सहयोग पुग्ने लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ।