काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गरिनुका साथै विभिन्न महत्वपूर्ण विधेयक प्रस्तुत गरिनेछ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल सुरु हुने र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ।
त्यसैगरी व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनमा पेश गर्नेछन्। साथै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै ती विधेयकहरू संसद्मा दर्ता गराउने कार्यक्रम रहेको छ।
बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक तथा महासन्धिसमेत पेश गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेश गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।