काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिक तनावबाट मुक्त गर्दै विकास कूटनीतितर्फ लैजान चाहेको बताएका छन। भारतको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री खनालले आइतबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट मात्र नहेरी विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन आवश्यक रहेको उहाँले उल्लेख गरे।
नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको चर्चा गर्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझहरूबाट मुक्त भएर परिणाममुखी कूटनीतिमा केन्द्रित रहेको दाबी गर्नुभयो। भ्रमणका क्रममा भारतसँग व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जानकारी उनले दिए।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत समीक्षा भएको परराष्ट्रमन्त्री खनालले बताउनुभयो। सोही अवसरमा नेपाल र भारतबीच व्यक्ति–व्यक्ति सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको उनले जानकारी दिए। यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास मन्त्री खनालले व्यक्त गरे।
यसैगरी, भारतीय सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिका पुनर्निर्माण अन्तर्गतका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक क्षेत्रका परियोजनाहरू यसै भ्रमणका क्रममा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ।
प्रविधि र शैक्षिक क्षेत्रको सहकार्य अन्तर्गत काठमाडौं विश्वविद्यालय र भारतको 'भाषिणी डिभिजन' बीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको समेत परराष्ट्रमन्त्री खनालले पत्रकार सम्मेलनमा जानकारी दिए।