सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, ताली बजाउने रास्वपा सांसदलाई प्रश्न गरौँ : गगन थापा

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, ताली बजाउने रास्वपा सांसदलाई प्रश्न गरौँ : गगन थापा

 |  सोमबार, जेठ १८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १८, २०८३

रूपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्ति र त्यसमा समर्थन जनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको कडा आलोचना गरेका छन्। उनले राष्ट्रहितविपरीतको अभिव्यक्तिमा संसद्मा ताली बजाउने रास्वपाका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गरेका हुन्।

National life

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय पार्टी पदाधिकारी एवं जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे।

“हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसद्मा पठाएका होइनन्,” थापाले भने, “त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ।”

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै उनले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताए। उनले प्रधानमन्त्रीलाई तत्काल संसद्मा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए। सरकारले गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म भएको र त्यो जिम्मेवारी कांग्रेसले निर्वाह गर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा महामन्त्री थापाले संसद्बाट जबरजस्ती 'प्रतिनिधि सभा नियमावली २०८३' पारित गरिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाए। सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उनले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए।

Shivam cement

पार्टीको आन्तरिक विषयमा बोल्दै महामन्त्री थापाले आगामी निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर होइन, कार्यकर्तालाई विश्वासमा लिएर अघि बढ्नु पर्ने स्पष्ट पारे। क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उनले बताए। सम्बन्धित पदका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भनेर पार्टीले सर्वेक्षण गर्ने र त्यसैका आधारमा उम्मेदवार चयन गरिने उनले जानकारी दिए।

महामन्त्री थापाले आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको र पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने कार्यक्रम ल्याइने बताए। “मैले तपाईंहरूको शिर निहुरिन नदिने अठोट गरेको छु, तर त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ,” कार्यकर्ताहरूलाई आग्रह गर्दै उनले भने, “एक वर्ष राम्रोसँग काम गर्न सके चुपचाप पार्टी छोडेर गएकाहरू हल्ला गर्दै पुनः कांग्रेसमै फर्किनेछन्।”

प्रकाशित: Jun 01, 2026| 18:33 सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्