मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सुदूरपश्चिम प्रवक्ता सुरत रावतद्वारा जिम्मेवारी त्यागेको घोषणा

कांग्रेस सुदूरपश्चिम प्रवक्ता सुरत रावतद्वारा जिम्मेवारी त्यागेको घोषणा

 |  बिहीबार, जेठ ७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ७, २०८३

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं प्रवक्ता सुरतबहादुर रावत ‘डोटेली कान्छा’ले पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। जिम्मेवारी मुक्त भएको एक हप्ता पुग्नै लाग्दा उनले सामाजिक सञ्जालमार्फत आफू अब पदीय दायित्वमा नरहेको सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, 'एक हप्तादेखि आधिकारिक रूपमा कार्यकारी जिम्मेवारीबाट मुक्त भएको छु, थोरै हल्का महसुस भएको छ। केही अधुरा, अपुरा र गर्नैपर्ने जिम्मेवारी समयसँगै पूरा गर्ने प्रयत्न गर्नेछु।'

पार्टीको जिम्मेवारीबाट बाहिरिनुको स्पष्ट प्राविधिक कारण नखुलाए पनि उनले केन्द्रीय नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए। विशेष महाधिवेशनपछि पार्टी भावनात्मक रूपमा दुई भागमा विभाजन भएको उल्लेख गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्व बढी जिम्मेवार हुनुपर्ने भन्दै खबरदारी गर्दै आएका थिए।

यसअघि आइतबार मात्रै रावतले पार्टीभित्रको गुटबन्दी र सामाजिक सञ्जालमा हुने गरेका दोहोरी तथा 'युद्ध' त्यागेर पार्टी एकतामा लाग्न आह्वान गरेका थिए। कांग्रेस निष्ठावान कार्यकर्ताहरूको पार्टी भएको जिकिर गर्दै उनले कसैको दास बनेर वा नेताहरूको चाकरी गरेर पदमा पुग्ने प्रवृत्ति आफूहरूमा नरहेको स्पष्ट पारेका थिए।

पार्टीभित्र विद्यमान वैमनस्यता, उग्रता र सामाजिक सञ्जालको द्वन्द्वले पार्टीलाई नै कमजोर बनाउने उनको भनाइ थियो। प्रवक्ता रावतले कांग्रेसलाई तल्लो तहदेखि नै वैचारिक र संगठनात्मक रूपमा बलियो बनाउनका लागि अब 'पुनर्जागरण अभियान' आवश्यक रहेको औंल्याएका छन्। यस्तो अभियान प्रदेश, जिल्ला, क्षेत्र हुँदै पालिकाहरूसम्म लैजानुपर्नेमा उनको जोड छ।

प्रकाशित: May 21, 2026| 22:17 बिहीबार, जेठ ७, २०८३
प्रतिक्रिया दिनुहोस्