काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत अनुमोदन भएको छ।
सोमबार संसदीय सुनुवाइ समितिले उनीसँग कार्ययोजना र विभिन्न सरोकारका विषयमा छलफल (सुनुवाइ) गरेलगत्तै बसेको समितिको बैठकले उनको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।
सुनुवाइका क्रममा सांसदहरूले उठाएका योग्यता, क्षमता र सर्वोच्च अदालतभित्रको गुटबन्दी सम्बन्धी प्रश्नहरूको प्रष्टीकरण दिँदै डा. शर्माले आफ्नो सिफारिस न्यायसङ्गत र योग्यताकै आधारमा भएको दाबी गरेका थिए। उनले सर्वोच्च अदालतभित्र कुनै गुटबन्दी नरहेको र बार तथा बेन्चबीच कुनै द्वन्द्व नरहेको समेत स्पष्ट पारेका थिए।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब उनलाई राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश पदमा नियुक्त गरिनेछ र सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने बाटो खुल्नेछ।