धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावत 'डोटेली कान्छा'ले पार्टीभित्रको आन्तरिक गुटबन्दी र सामाजिक सञ्जालमा हुने गरेका नकारात्मक टिप्पणीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टीको आधिकारिक प्रदेश समितिले आफ्ना नियमित कार्यक्रमहरू सञ्चालन गर्दासमेत 'कांग्रेस दुई वटा छ र?' भन्ने जस्ता मानसिकता बोकेर भ्रम फैलाउन खोजिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता रावतले पार्टीभित्र कसैको दास बनेर वा नेताहरूको चाकरी गरेर पदमा पुग्ने प्रवृत्ति आफूहरूमा नरहेको स्पष्ट पारेका छन्। उनले कांग्रेस निष्ठावान कार्यकर्ताहरूको पार्टी भएकाले कसैको निगाहमा राजनीति नगरेको जिकिर गरे।
"हामी कसैको दास र लास होइनौँ, ढुक्क भए हुन्छ। कसैको टीका-प्रसाद लगाएर वा पार्टीका नेताका संस्थामा योजना बाँड्ने समितिका सदस्य बनेर हामी आएका होइनौँ," प्रवक्ता रावतले भने, "फरिया र कोटको फाल समातेर, अरूको कुरा लगाएर नेता भएका पनि होइनौँ।"
पार्टीभित्र विद्यमान वैमनस्यता, उग्रता र सामाजिक सञ्जालमा देखिने द्वन्द्वात्मक 'युद्ध'लाई तत्काल त्याग्नुपर्नेमा जोड दिँदै उनले यस्ता प्रवृत्तिले पार्टीलाई नै कमजोर बनाउने उल्लेख गरेका छन्। उनले सम्पूर्ण नेता तथा कार्यकर्तालाई सञ्जालको विवाद छाडेर मूल पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छन्।
कांग्रेसलाई तल्लो तहदेखि नै वैचारिक र सङ्गठनात्मक रूपमा बलियो बनाउनका लागि पुनर्जागरण अभियानको खाँचो रहेको रावतको भनाइ छ। पार्टीको बृहत्तर एकताका लागि 'पुनर्जागरण अभियान' प्रदेश, जिल्ला, क्षेत्र हुँदै पालिकाहरूसम्म लैजानु आवश्यक रहेको उनले बताए।
अनावश्यक टीकाटिप्पणी र गुटगत मानसिकताबाट माथि उठेर समग्र पार्टीको हित र एकताका लागि एकजुट हुन प्रवक्ता रावतले सुदूरपश्चिमका सम्पूर्ण कांग्रेस नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गरेका छन्।