काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १:०० बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।
यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो। पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन्।
एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ।
आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ।