काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन्।
मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
हावाहुरीका कारण रूख ढलेर प्रसारण लाइनमा क्षति पुग्दा कोहलपुर–सुर्खेत १३२ केभी लाइनका दुई टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
उक्त घटनालगत्तै मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय गरिरहेको र विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न पहल थालेको छ। यस्तै, मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त टावरको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो। प्राविधिक निरीक्षणका क्रममा टावरको फाउन्डेसन (जग) नै पुनः निर्माण गर्नुपर्ने देखिएकाले मर्मत तथा पुनःस्थापनाको कार्यसम्पन्न हुन करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानका लागि महत्त्वपूर्ण पूर्वाधार मानिन्छ। आयोजना सम्पन्न नहुँदै प्राकृतिक प्रकोपका कारण भएको यो क्षतिले प्रदेशको ऊर्जा सुरक्षामा चुनौती थपेको छ। मन्त्री श्रेष्ठले मर्मत कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ।