डडेल्धुरा । नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले वर्तमान सरकारले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य रोक्नु पर्ने बताएका छन्। आज डडेल्धुरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले देशका लागि जमिन र जनता उत्तिकै आश्यक हुन तर सरकार जनजीविका प्रति गैह्र संवेनशील देखिन थालेको बताए।
एक अर्को प्रसंगमा नेता महरले संसद अधिवेशनबाट भागेर अध्यादेशमार्फत शासन चलाउने कुराले संसदको सर्बोच्चतामाथि धावा बोल्न खोजेको आरोप लगाए। शक्ति सन्तुलनको अबधारणा विपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको शरुवात हुने र विधिको शासन धरापमा पर्ने हो कि भन्ने आशंका बढ्न थालेको महरको भनाई छ।
देशभरका लाखौ बचतकर्ताको पसिनाको कमाइ डुबेको सहकारी ठगी प्रकरणमा सरकार मूकदर्शक नबनेर छिटो छिटो समस्याको समाधान निकाल्नु पर्ने उनको भनाई थियो। चरम मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको र सुकुम्बासी बस्तीमा सुत्केरी महिलामाथि राज्यले गरेको अमानवीय व्यवहारले सरकारको असंवेदनशीलता छताछुल्ल भएको उनले बताए।
राष्ट्रिय राजनीतिबाट गृहजिल्लाको विकासतर्फ केन्द्रित हुँदै नेता महरले आगामी आर्थिक वर्षको बजेटमा डडेल्धुराका ड्रिम प्रोजेक्टुहरूलाई पहिलो प्राथमिकतामा राख्न तीनवटै तहका सरकारसँग माग गरे। उनले डडेल्धुरा विमानस्थलको निर्माण, मेडिकल कलेजको शीघ्र बिकास र पश्चिम सेती तथा पञ्चेश्वर जस्ता बहुउद्देश्यीय आयोजनाको द्रुत कार्यान्वयनमा जोड दिए।
डडेल्धुरा जिल्लामा गत वर्ष विनियोजित मध्ये २ अर्ब बढी बजेट रकम काटिएकाले यसको फेरि बिनियोजन र आज सम्म डडेल्धुराका लागि छुट्याउँदै आएको बजेटमा यो सरकारले कटौति गर्न नहुने महरले बताए।
स्थानीय नागरिकका तत्कालीन समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै उहाँले जिल्लाका ५२ वटै वडामा बाँदर र बँदेललगायतका वन्यजन्तुले मच्चाएको आतंक नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने बताए। साथै, ज्यानमारा बनेका ग्रामीण सडकको स्तरोन्नति, अस्पतालको व्यवस्थापन सुधार, जीर्ण खानेपानी आयोजनाको पुनर्निर्माण र युवा लक्षित प्राविधिक शिक्षाको विस्तार र डडेल्धरा जिल्लाको कृषि - पर्यटन को बिकास गरेर युवा रोजगार सृजना गर्नु पर्ने उनले विशेष जोड दिए।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको प्रष्ट पार्नुभयो। उहाँले अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा थप खरो रूपमा उत्रिनुपर्ने बताए।
अन्त्यमा, डडेल्धुराका जनता र सञ्चारकर्मीलाई निरन्तर साथका लागि धन्यवाद दिँदै नेता महरले आफू सधैं डडेल्धुरावासी र सिंहदरबारबीचको बलियो पुल बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।