काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधिमैत्री सञ्चार अभ्यासलाई लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताएका छन्।
शितलनिवासमा आज आयोजित राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहमा मन्तव्य राख्दै मन्त्री तिमिल्सिनाले पत्रकारिताको स्वतन्त्रता र मर्यादाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए।
उनले पत्रकारितालाई राज्यको चौथो अङ्गका रूपमा सरकारले स्वीकार गरेको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आधार भएको धारणा राखे। संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको भन्दै उनले सरकार प्रेसमाथि अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व आवश्यक रहने उल्लेख गर्दै तथ्य र सत्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशा दिने बताए। यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधार : प्रविधिमैत्री जिम्मेवार पत्रकार’ रहेको उल्लेख गर्दै उनले डिजिटल युगमा प्रविधियुक्त र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको बताए।
‘विश्वव्यापी सूचना प्रविधिको विकाससँगै सूचना प्रवाहमा तीव्रता आएको भए पनि ‘फेक न्यूज’ र सामाजिक सञ्जालको दुरुपयोग चुनौतीका रूपमा देखिएको छ’, मन्त्री तिमिल्सिनाले भने, ‘यस्ता चुनौती कम गर्न तथ्य जाँचलाई पत्रकारिताको महत्त्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्छ।’
मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमहरूको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै विज्ञापन नीति २०८३ तर्जुमामार्फत सञ्चार क्षेत्रको हितमा नीतिगत व्यवस्था गर्न सरकार अघि बढेको जानकारी दिए।
श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले पत्रकारहरूको न्यूनतम पारिश्रमिक सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने बताए।
पत्रकारितालाई सामाजिक न्याय, सुशासन र समृद्धिको संवाहकका रूपमा व्याख्या गर्दै विकास, सुशासन र सामाजिक रूपान्तरणका विषय जनतासम्म पु¥आउन सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहने मन्त्री तिमिल्सिनाले बताए। उनले सञ्चारकर्मीलाई तथ्यमा आधारित र रचनात्मक आलोचना गर्न आग्रह गरे।
मन्त्री तिमिल्सिनाले सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिँदै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने लक्ष्य रहेको बताए।
वि.सं १९५८ वैशाख २४ गते ‘गोरखापत्र’ प्रकाशन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा मनाइएको दिवसका अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, सञ्चार गृह सञ्चालक र सञ्चारकर्मीलाई शुभकामना व्यक्त गरे।
समारोहमा मन्त्री तिमिल्सिनाले ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२’ र ‘वरिष्ठ पत्रकार सम्मान २०८२’ बाट सम्मानित अग्रज तथा समकालीन पत्रकारहरूलाई बधाई दिँदै लोकतन्त्र, नागरिक स्वतन्त्रता र सत्यनिष्ठ पत्रकारिताका लागि पत्रकारहरूले पु¥याएको योगदानको राज्यले उच्च मूल्याङ्कन गरेको बताए।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवार तथा प्रविधिमैत्री पत्रकारिता सुशासनको आधार भएको बताइन्।
प्रविधिको उच्चतम प्रयोग गर्दै जिम्मेवारीपूर्ण ढङ्गले नागरिकलाई सुशिक्षित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले प्रविधि आफैँमा साधन मात्र भएकाले त्यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले सुशासनको अवस्था निर्धारण गर्ने धारणा राखिन्।
सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमको बढ्दो प्रभावबीच सत्य सूचना ओझेलमा पर्न नहुने उल्लेख गर्दै सचिव बस्नेतले पारदर्शी समाज र जबाफदेही सरकार निर्माणमा प्रविधिमैत्री पत्रकारिताले पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्धन तथा नागरिकको सूचनाको हकको रक्षाका लागि मन्त्रालय सञ्चारमाध्यमसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सचिव बस्नेतले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन नयाँ नीति तथा कानुनको तर्जुमा र परिमार्जनलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। पत्रकारको क्षमता अभिवृद्धि तथा प्रविधिमा पहुँच विस्तारका लागि मन्त्रालयले सहजीकरण गरिरहने पनि उनले बताइन्।
कार्यक्रममा वरिष्ठ पत्रकार सम्मान चन्द्रकिशोर झा र नम्रता शर्मालाई प्रदान गरिएको छ। त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार उमेश श्रेष्ठ, भोलाकुमार पासवान र रुपा गहतराजलाई प्रदान गरिएको थियो।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले नयाँ सरकार सुशासन, पारदर्शिता र नागरिकका अपेक्षा पूरा गर्ने दिशामा जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले समाजको रूपान्तरणमा नागरिकको हक प्रत्याभूत गराउन जिम्मेवार, निष्पक्ष र तथ्यपरक पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्दै मिडियामैत्री कानुन निर्माण गर्न सरकारसँग आग्रह गरे। रासस