काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिएकी छन्।
सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मदन भण्डारीलाई राष्ट्रवादी र दूरदृष्टि भएका नेताका रूपमा स्मरण गर्दै भौतिक रूपमा गुमाएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली जनजीवनमा उनी भावनात्मक र राजनीतिक रूपमा जीवित रहेको बताइन्।
उनले भनिन्, ‘मदन भण्डारीज्यूलाई भौतिक रुपमा गुमाएको ३० वर्ष बढी भइसकेको छ। तर पनि भावनात्मक रुपमा र राजनीतिक हिसावले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनु भएको छ। उहाँ एउटा राष्ट्रवादी र दूरदृष्टि भएको नेता हो। त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढंगले संगठित र सशक्त ढंगले रहेको छ।’
उनले भण्डारीकै मार्गदर्शनका कारण नेपालको कम्युनिस्ट आन्दोलन संगठित र सशक्त रूपमा अघि बढिरहेको धारणा व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहे पनि जनताको बहुदलीय जनवादकै आधारमा देशको आवश्यकता अनुसार अघि बढ्नुपर्ने बताइन्।
साथै, देशको वर्तमान गतिलाई ध्यानमा राख्दै यी विषयमा गम्भीर अध्ययन गरी राष्ट्रिय हितअनुसार नीतिहरू तय गर्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘बहुदलीय प्रणाली सामाजिक सद्भाव र राष्ट्रिय एकता निकै महत्वपूर्ण विषय छ। संसारमा धेरै दर्शन चलेका छन्। धेरै दर्शनलाई मानिसहरुले र देशहरुले अनुशरण गरिरहेको अवस्थामा जनताको बहुदलीय जनवादमै आधारित रहेर जबजकै आधारमा सामाजिक एकता सद्भाव र राष्ट्र निर्माण भन्दा पनि बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता सम्बन्धि कार्यक्रम गरेको हो जस्तो लाग्छ। आज देश जुन गतिमा गइरहेको छ त्यसलाई हेरेर वा राम्रोसँग अध्ययन गरेर देशको आवश्यकता अनुसार अगाडि बढ्नुपर्ने छ।’
भण्डारीले विश्वमा विभिन्न राजनीतिक दर्शनहरू प्रचलनमा रहेपनि जनताको बहुदलीय जनवाद (जबज) कै आधारमा देशलाई अघि बढाउनुपर्ने धारणा राखिन्। उनले यस्ता विषयलाई समग्र रूपमा हेरेर कार्यक्रम आयोजना गरिएको जस्तो लागेको पनि बताइन्।